नवराज सुब्बा
काठमाडौं
नेपालमा ३३ पुस्तासम्म शासन गरेका किरातहरूको शासनकाल नेपाली संस्कृतिको उत्पत्तिका दृष्टिले एक महत्वपूर्ण काल हो भनेर विभिन्न विद्वानहरूको लेखबाट पुष्टि भइसकेको छ । बर्तमानमा आइपुग्दा नेपाल विविध जातजाति, धर्म, सस्कृतिको अद्वितीय फूलबारी बनेको छ । यो सुन्दर फूलबारीलाई जीवन्त राख्न सबै जातजातिका सस्कृतिलाई जोगाइराख्न आवश्यक छ ।
यो छोटो लेखमा मंसिरे पूणिर्माको दिनमा मनाइने एउटा महत्वपूर्ण किरातचाड चासोक तङनाम, उधौली साकेला, चोसोवा, र फोलष्याँदरका बारेमा सामान्य जानकारी गराउने प्रयास गरिएको छ । किरातमध्येका लिम्बूहरूले यसलाई चासोक तङनाम, राईहरूले साकेला उधौली अर्थात् चण्डीनाच, याक्खाहरूले चोसोवा र सुनुवारहरूले फोलष्याँदरको रूपमा मनाइने गर्दछन् । यस पर्वको मूल परम्परागत मर्म एउटै छ- त्यो हो अन्नबाली पाकिसकेपछि आ-आफ्ना इष्टदेवता र पितृहरूको पूजाआजा गरी नयाँ अन्न अर्पण गरेरमात्र त्यो नयाँ अन्न खाने परम्परा । उत्साहपूर्वक मनाइने नयाँ अन्नअर्पण गर्ने परम्परालाई लिम्बू, राई, याक्खा र सुनुवार आदि किरात जातिमा समान रुपमा मनाइने हुनाले यस चाडलाई किरातचाड भनिएको हो ।
लिम्बूहरूले चासोक तङनाम अर्थात् न्वाङ्गी पर्व मनाउँदा लगाइएका अन्नबाली मकै, कोदो र धान पाकेपछि ती अन्न खानुअघि आफ्नार् इष्टदेवताहरूलाई चढाउन चासोक पूजा गरिन्छ । खेतीबारी टाढा भए अन्नका बालाबाला घरमै ल्याई पूजा गरिन्छ भने घर नजिकै भए खेतीबारीमै गएर भुइँ सम्याएर सफा सुग्घर बनाएर पूजा थानको निर्माण गरेर पूजा गरिन्छ । धानको बाला हातैले माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चडाउने चिउरा (साम्बेक) बनाईन्छ भने कोदोको बालालाई पनि हातले माडिन्छ र सफा पारिएको कोदोमा मर्चापानी मिसाएर पूजाको लागि जाँड (साप्तोक) र साप्तोक चढाउनलाई सानासाना बाँसका पेहेङ (तोङबा)हरू बनाईन्छ । यसरी साम्बेक र साप्तोक तयार भएपछि बटुकामा चोखो पानी र पुज्नलाई पानी र्छर्की केराको पात बेरेर प्रयोग गरिन्छ भने घरबाहिर र घरभित्र पुजिईने देवताहरूको नाममा केराको पात राखी थान (लास्सो) बनाई लास्सोमाथि जोर पेहेङ ठड्याईन्छ । त्यसमा मुन्धुमवाचन गर्दै चोखो पानी र्छकदै तोङबा (पेहेङ)को जाँड (साप्तोक) पिपा (पित्छिङ) ले लास्सोमा चढाएर पेहेङहरू लडाइन्छ र यसरी लास्सोलाइ सेलाइएपछि चासोक तङनाम (न्वाँगी पूजा) सम्पन्न हुन्छ ।
राईहरूले साकेला उधौली मनाउँदा किरात राईहरू बसोबास गरेको ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा पहिले चूलो पुज्ने त्यसपछि बाहिर सार्वजनिक स्थानमा स्थापना गरिएका साकेला चण्डिथानमा गई मुन्धुमअनुसार पूजाअर्चना गरिन्छ । त्यसपछि सोही उपलक्ष्यमा मंसिरे पूणिर्मादेखि गाउँगाउँ र प्रत्येक घरघरमा विभिन्न सिलीमा साकेला नृत्य, ढोल, झयाम्टा, सिर्लिङ र मिरिमा आदि लिई हर्षोल्लासकासाथ नाच्ने गर्दछन ।
याख्खाहरूको चोसोवा मनाउने विधिअनुसार चोसोवा पूजा गर्नको लागि पाङ्दुरको जाँड पकाईन्छ, पाकेको धान खेतबाट ल्याई सोहि दिन भुटेर चामल बनाई साथमा जोर (भालेपोथी) कुखुरा, अण्डा, बोटसहितको अदुवा, तीनदर्जन केराकोपातको टुप्पा (लाहाचोङ) चोखो तोर्बा र मेच्चेफुङ (कुशुमे फुल) र केराको पातले बेरेको कलश तयार पारिन्छ । यसरी पूजाको आवश्यक सामाग्री तयार भएपछि घर लिपपोत सफासुग्घर गरेर एउटा कुनामा मान्द्रोलाई घोप्टो पारेर बिछ्याई तीनजोर लाहाचोङलाई पनि लहरै बिछ्याइन्छ र तयार भएका सामाग्रीहरू पनि तिनै ठाउँमा राखेर घरमुली वा मुन्धुम जान्ने ब्यक्तिले मुन्धुममार्फ सम्बोधन गर्दै पूजा सम्पन्न गरिन्छ । आफ्ना पितृहरूको नाममा नयाँ अन्नबालीबाट बनेको खानेकुरा चढाउँदै आगामी दिनहरूमा पनि यसरी नै पहिले आफ्ना पितृहरूलाई चढाएर मात्र आफुले खाने प्रतिबद्घवता जनाउँदै चोसोवा अर्थात् उधौलीपूजाको समापन हुन्छ ।
सुनुवारहरूको फोलष्याँदर अर्थात् उधौलीपर्व मनाउँदा मंसिरे पूर्णिमाको दिन परिवार तथा नातागोता जम्मा भएर सर्वप्रथम अग्नि र इन्द्रेणीलाई पूजा गरेपछि अन्य देवदेवी, सूर्य, चन्द्र, आकाश, जल, वायु, भूमि अनि पितृहरूलाई क्रमशः पूज्दै आव्हान गर्दै प्रकृति तथा दैवी प्रकोप, अतिवृष्टि, अनिकाल, रोगव्याधि नलागोस् र सहकाल लागोस् भनेर कुलपुरोहित (न्हाःसो)द्वारा र्सार्वजनिक पूजास्थलमा ष्याँदरपूजा गरिन्छ । यदि कुलपुरोहित (न्हाःसो) हरू नपाईएको खण्डमा सुनुवार जातिले आफ्नै घरको पूजाकोठा (लागपर्गि) मा फूलपाति, अक्षता, पानी र फलफूल चढाएर एकजोर जाँड (ष्याम) राखि धूप बाल्दै सामान्य किसिमले पनि ष्याँदरपूजा सुसम्पन्न गरिन्छ ।
जेहोस्- खेतीपाती गर्न सिकाउने विद्या दिने आफ्ना इष्टदेवता, संसार देखाउने आफ्ना पितृ र बाँच्नको लागि नभई नहुने खाद्यान्न प्रदान गर्ने प्रकृति अर्थात् घाम, पानी, जून, धरती साराप्रति अत्यन्त अनुगृहित हुँदै नयाँ अन्नवाली अर्थात् नयाँ वर्ष र जीवनको सुरक्षा र समुन्नतिको आशिर्वाद माग्दै अर्को साल पनि यसरी नै मनाउन पाइयोस् है ! भन्दै उत्साहका साथ मनाइने यो किरातपर्व वास्तवमा किरातजातिको मौलिक परम्परा भएता पनि यो नेपाली संस्कृतिको एक अभिन्न अंग हो । जसलाई आज कुनै जातिविशेषको पर्वको रुपमा मात्र नलिएर सवै जातजातिमा सद्भाव फैलाउने एक नेपाली पर्वको रुपमा लिन थालिएको छ ।
रविवार, 13 दिसंबर 2009
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
publish by
Raj Rai sangam kirant
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )
contact us-00971508083675
E-mail add, raj_rai920@yahoo.com
( plz send us article in this Email address )
फ़ॉलोअर
ब्लॉग आर्काइव
-
▼
2009
(8)
-
▼
दिसंबर
(8)
- लिम्बु खम्बु होईन अब, मात्र किराँत
- ** जनजातिमा मा किराँत आवाज
- किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको ला...
- तीनसय वर्ष पहिलेका किताब ढुङ्गा राई बस्तीहरूमा
- उधौलीपर्वः प्रभु, प्रकृति, पितृप्रति कृतज्ञता
- इतिहासकै संगिन मोडमा आदिवासी किराती राई समुदाय
- अधिकारका लागि चुक्दैछन आदिवासीहरु
- किरात येले संवत् अन्तर्राष्ट्रिय विचार गोष्ठीको ला...
-
▼
दिसंबर
(8)
- Raj Rai sangam kirant
- okhaldhunga, bigutar - 4 surke, Nepal
- सर्वाधिकार © kirantsansar
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें